Online GK Nepal

History of Shital Niwas

Home GK Notes History of Shital Niwas

नेपालको सर्वोच्च पद राष्ट्रपति हो । राष्ट्रपतिलाई नेपालमा महाराजगञ्जमा अवस्थित राष्ट्रपतिको कार्यालयमा राखिन्छ । त्यस कार्यालयलाई शीतल निवास भनेर चिनिन्छ । तर अहिले यो भवनको नाम जस्तो त्यहाँ शीतल वातावरण रहेन । गत सोमबारदेखि प्रदर्शनरत  जेनजी पुस्ताका आक्रोशित युवाहरूले मंगलबार अपराह्न शीतल निवासमा आगजनी गरे । 

१. आजभन्दा १०२ वर्षअघि वि.सं. १९८० मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नी जेठी बडामहारानी लोकभक्तलक्ष्मी देवीतर्फका कान्छा छोरा कृष्ण शमशेरका लागि यो दरबार बनाइदिएका थिए ।

२. इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले यो दरबारको डिजाइन गरेका थिए ।

३. करिब १४० रोपनी जग्गा भित्र बनेको यस दरबारलाई वि.सं. १९९० माघ २ गते गएको विनाशकारी महाभूकम्पले धेरै क्षति गरेको थियो । त्यसपछि कृष्णशमशेरले मर्मत संहार गरेर आधुनिक तरिकाले निर्माण गरेका थिए । त्यसबेला मर्मतसम्भारका लागि उनले ३ लाख २२ हजार ८०२ रुपैयाँसमेत सरकारलाई उपलब्ध गराएको बताइन्छ । 

४. कृष्ण शमशेरले सरकारी ‘अतिथिगृह बनाउनकै लागि’ भनेर तत्कालीन सरकारलाई आफ्नो व्यक्तिगत सम्पत्ति दान दिएका थिए ।

५. यस दरबारमा ब्रिटिश महारानी एलिजाबेथ, चीनका प्रधानमन्त्री चाउ एन्लाई, भारतका राष्ट्रपति सर्वपल्ली राधाकृष्णन, सोभियत सङ्घका राष्ट्रपति भोरोस्लोभ, जापानका युवराज अकिहितो, इजरायलका राष्ट्रपति जाल्मन शजार लगायतका उच्च पदस्थ व्यक्ति पाहुना बसेका छन् ।

६. कुनै समय शीतल निवासलाई परराष्ट्र मन्त्रालयको लागि समेत प्रयोग गरिएको थियो । अहिले भने सिंहदरबार भित्रै परराष्ट्र मन्त्रालयले रहेको छ ।

७. शीतल निवासमा लामो समयसम्म भारतीय राजदूतावास पनि राखिएको थियो । भारतबाट बेलायतको उपनिवेशबाट स्वतन्त्रभएपछि नेपालमा कहाँ दूतावास भवन राख्ने भन्ने टुङ्गो नलाग्दा  शीतल निवासमा राजदूतावास राखिएको थियो ।

८. सन् १९५२ देखि ५४ सम्म नेपालका लागि भारतीय राजदूत रहेका बालचन्द्र गोखलेको छोराको विवाह समारो शीतल निवासमै भएको थियो । अनि, प्रथम राष्ट्रपति रामवरण यादवका नाती र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीबिचको विवाह पनि शीतल निवासमै भएको थियो । 

९. तर, गणतन्त्रको स्थापनापछि वि.सं. २०६५ साल असार २० को मन्त्रीपरिषद्को निर्णय बमोजिम नेपाल सरकारले यस दरबारलाई राष्ट्रपति भवनमा परिणत गरेको हो । त्यसयता शीतलनिवासमा राष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको निवास रहेको छ ।

१०. ‘स्टेट गेस्ट हाउस’ बनाउने मूल उद्देश्य साथ दाता कृष्णशमशेरले यो भवन दान गरेका थिए । सुरुका दिनहरूमा त्यसो गरिएपछि कालान्तरमा गरिएन । हालसम्म यस दरबारमा नेपालमा तीन राष्ट्रपति बसिसकेका छन् ।

रापतापको भुंग्रोमा शीतल निवास

शीतल निवास १९९० सालको भूकम्प, २०७२ को भूकम्प हुँदै २०८२ को आन्दोलनमा पनि निसानामा पर्‍यो । २०७२ को भूकम्पपछि ‘रेट्रो फिटिङ’ गरेर शीतल निवासलाई पहिलाकै स्वरूपमा ल्याइएको थियो । त्यसको १० वर्षपछि प्रदर्शनकारीले पुनः खण्डहर बनाइदिएका छन् ।

२३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद् भवन, शीतल निवासलगायत राजधानीका प्रमुख सरकारी भवनहरू जलाइए । कतिपय भवनहरू त ध्वस्त नै भए भने कतिपय पुनः प्रयोग गर्न सकिने अवस्थामा छन् । जेन–जी आन्दोलनका क्रममा घुसपैठ हुँदा महत्त्वपूर्ण सरकारी अभिलेखहरू नष्ट हुनुका साथै ऐतिहासिक भवनहरूमा क्षति पुगेको छ । यसरी क्षति पुग्नेमध्येको एक महत्त्वपूर्ण र इतिहास बोकेको शीतल निवास पनि अछुतो रहेन । हाल राष्ट्रपति कार्यालय रहेको शीतल निवासको इतिहास राणाकालदेखि नै जोडिन्छ । राणाहरूसँग मात्र हैन नेपाल भ्रमण गरेका उच्च तहका राष्ट्र प्रमुखको नेपाल भ्रमणसँग पनि शीतल निवासको साइनो र इतिहास थियो ।

शीतल निवास १९९० सालको भूकम्प, २०७२ को भूकम्प हुँदै २०८२ को आन्दोलनमा पनि निसानामा पर्‍यो । २०७२ को भूकम्पपछि ‘रेट्रो फिटिङ’ गरेर शीतल निवासलाई पहिलाकै स्वरूपमा ल्याइएको थियो । त्यसको १० वर्षपछि प्रदर्शनकारीले पुनः खण्डहर बनाइदिएका छन् ।

यसरी निर्माण भएको थियो शीतल निवास

सन् १९०१ मा सत्तामा रहेका देवशमशेरलाई उनकै भाइ चन्द्रशमशेर जबराले पदच्युत गरी आफैंलाई प्रधानमन्त्री एवं श्री ३ महाराज बनाए । सत्ता सम्हालेपछि निवासका लागि उनले एउटा भव्य दरबार निर्माण गर्न लगाए । सन् १९०४ मा निर्माण गरिएको चन्द्रशमशेरको सोही दरबारलाई अहिले सिंहदरबार भनिन्छ । सन् १९२० मा चन्द्रशमशेरले उक्त दरबारलाई सरकारी प्रधानमन्त्री कार्यालय/आवास बनाएका थिए ।

प्रधानमन्त्रीको सिंगो परिवार सिंहदरबारमा अटेन वा चन्द्रशमशेरलाई त्यसले मात्र सन्तुष्टि दिएन । अनि उनले सोही वर्ष जेठी रानीपट्टिका दुई छोराका लागि महाराजगन्जमा दुई वटा नयाँ दरबार बनाउन आदेश दिए । जेठा छोरा मोहनशमशेरका लागि लक्ष्मी निवास (हाल सेनाको भैरवनाथ गण) र कान्छा छोरा कृष्णशमशेरका लागि शीतल निवास (हालको राष्ट्रपति कार्यालय) ठडियो । त्यस्तै लक्ष्मी निवाससँगै जोडिएको राप्रपाका नेता पशुपतिशमशेर जबरा बस्ने विजय वास पनि यही समयमा छुट्याइएको जग्गा थियो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले जेठी बडामहारानी लोकभक्तलक्ष्मी देवीतर्फका कान्छा छोरा कृष्णशमशेरका लागि यो दरबार बनाइदिएका थिए । सन् १९२३ (१९८० साल) मा निर्माण सम्पन्न भएको शीतल निवासलाई १९९० सालको भूकम्पले ठूलो क्षति पुर्‍यायो । भूकम्पले क्षति पुर्‍याएपछि कृष्णशमशेरले त्यसलाई पुनर्निर्माणको अवसर ठाने । त्यसपछि उक्त दरबारलाई आधुनिक तरिकाले मर्मत सम्भार गरी अहिलेको स्वरूप दिए । १ सय ४० रोपनी क्षेत्रफलमा फैलिएको शीतल निवासलाई उनले पाँचतारे होटलसरहको बनाउने चाहना राखेर पुनर्निर्माण थालेका थिए ।

Shital Niwas during Rana Period

कृष्णशमशेरले राजदूतदेखि विभिन्न उच्च पदमा रहेर सेवा गर्ने मौका पाएका र देश, विदेश देखेका कारण उनले यसलाई त्यहीअनुसार आधुनिकीकरण गराएका थिए । प्रधानमन्त्री जुद्धशमशेरले जनरल कृष्णशमशेरलाई आफ्नो सबैभन्दा विश्वासिलो पात्र मान्थे । उनीसँग जुद्धशमशेरले देशदेखि विदेशसम्मका सल्लाह लिन्थे । यही कारण उनलाई लन्डनस्थित नेपाली राजदूतको जिम्मेवारी दिइएको थियो । तत्कालीन समयमा नेपाल र बेलायत घनिष्ठ सम्वन्ध भएका देश थिए । राणा परिवारको बेलायतसँग जंगबहादुरकै पालादेखि सुमधुर सम्बन्ध भएका कारण जुद्धशमशेरले आफ्ना विश्वासिला पात्र कृष्णशमशेरलाई त्यहाँको राजदूत बनाएका थिए । दोस्रो विश्वयुद्धमा भारतको सहयोगार्थ पठाइएका नेपाली सेनाको दल प्रमुखमा प्रधानमन्त्रीको हजुरिया जनरल रहेका बहादुरशमशेर दिल्लीमा खटिएपछि कृष्णशमशेरलाई जुद्धशमशेरले आफ्नो हजुरिया जनरल नै नियुक्त गरेका थिए ।

पछि बहादुरशमशेर नेपाल फर्किएपछि कृष्णशमशेरलाई भारतमा खटिएका नेपाली सेनाको दल प्रमुख बनाई दिल्ली पठाएका थिए । उनी परराष्ट्र मामिलाको डाइरेक्टर जनरल थिए । यो मन्त्रीभन्दा पनि शक्तिशाली पद भएको भट्टराईले बताए । प्रधानमन्त्री पद्मशमशेरको पालामा समेत कृष्णशमशेर महत्त्वपूर्ण जिम्मेवारीमै रहे । अंग्रेजी जानेको, देश–विदेश घुमेको तथा पढेलेखेको भएका कारण उनी ‘विदेशीले पत्याइएका’ राणामा पर्दथे । यही कारण उनी प्रधानमन्त्रीका वैदेशिक मामिला हेर्ने मुख्य सहयोगी भए ।

यति मात्रै होइन, राणाहरूबीच विभिन्न विषयमा विवाद हुँदा कृष्णशमशेरकै पहलमा निर्णायक सहमति हुन्थ्यो । कृष्णशमशेरको विवाह राजा त्रिभुवनकी साइँली दिदी अधिराजकुमारी तारा दिव्यश्वरी शाहसँग भएको थियो । श्री ३ बाट पद्मशमशेरको बहिर्गमनसँगै मोहनशमशेर प्रधानमन्त्री बने । त्यसपछि कृष्णशमशेर सत्ताको दाउपेचमा किनारातिर परे । उनले २००६ सालमा आफू रोलक्रमबाट हट्ने र नेपालमा नबस्ने निर्णय लिए । त्यसपछि उनले आफ्नो घर शीतल निवास, त्यहाँका सबै फर्निचर, दुई वटा बग्गी, एउटा मोटरकारसमेत सरकारलाई उपहार दिए । उनले इच्छापत्र लेख्दै शीतल निवासलाई सरकारले प्रयोग गरोस् र यसलाई ‘स्टेट गेस्ट हाउस’ का रूपमा प्रयोग गरोस् भनी लिखितम् नै गरेर सरकारलाई बुझाए अनि पलायन भए । उनले तत्कालीन समयमा मर्मत सम्भारका लागि ३ लाख २२ हजार ८ सय २ रुपैयाँसमेत सरकारलाई उपलब्ध गराएर हिँडेका थिए ।

२९ असोज २००६ मा तत्कालीन प्रधानमन्त्री मोहनशमशेरले जनरल कृष्णशमशेरको राजीनामा स्वीकृत गरे । साथै उनले उपहारस्वरूप सरकारलाई दिएका दरबारसहित सबै सामान स्वीकार गरे । कृष्णशमशेर सोही वर्ष ९ पुसमा बैंग्लोर गएर बस्न थाले । हाल भारतीय दूतावास रहेको लैनचौरस्थित भवनमा ब्रिटिस दूतावास थियो ।

भारतीय दूतावासले कार्यालय र राजदूतको आवासका लागि ठूलो दरबार खोजिरहेको थियो । अनि सरकारले शीतल निवास भारतीय दूतावासका लागि उपलब्ध गरायो । कृष्णशमशेरले नेपाल छाडेको तीन दिनपछि १२ पुसमा भारतीय दूतावास रंगमहलबाट शीतल निवास सर्‍यो । भारतीय दूतावास शीतल निवासमा हुँदा नै २००७ सालमा राजा त्रिभुवनले सपरिवार भारतीय दूतावासभित्र शरण लिएका थिए ।

अनि शीतल निवास ‘स्टेट गेस्ट हाउस’ भयो

भारतीय दूतावास २०१०/११ सालतिर मात्र हालको लैनचौरस्थित भवनमा सरेपछि नेपाल सरकारले शीतल निवासलाई दाता कृष्णशमशेरकै चाहनाअनुसार ‘स्टेट गेस्ट हाउस’ (अतिथि गृह) का रूपमा परिणत गरियो । हालसम्म शीतल निवासले थुप्रै मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई आतिथ्यता प्रदान गरिसकेको छ ।

कूटनीतिक रूपमा शीतल निवासको अलग्गै स्थान भएको र अभिलेख रहेको पूर्वपरराष्ट्र सचिव एवं परराष्ट्र मामिलामा अध्ययन गरेका मदन भट्टराई बताउँछन् । कुनै समय बेलायतकी महारानी एलिजाबेथदेखि चीनका चर्चित प्रधानमन्त्री चाउ इन लाईसम्मलाई अतिथि बनाएर राखिएको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा कृष्णशमशेरले सरकारी ‘अतिथि गृह’ बनाउनैका लागि भनेर दान दिएर शीतल निवास बनाइएको थियो । कृष्णशमशेरले आफ्नो व्यक्तिगत सम्पत्ति दान दिँदा ‘स्टेट गेस्ट हाउस’ बनाउन भनेरै दान दिएको कूटनीतिक इतिहासका अध्येता तथा पूर्वपरराष्ट्र सचिव भट्टराईले बताए । परराष्ट्र मन्त्रालयमा लामो समय काम गरेका अर्का कूटनीतिज्ञ गोपाल थापाले आफूहरूले खोजी गर्ने क्रममा कृष्णशमशेरको इच्छापत्रमै सरकारी प्रयोजनका लागि दान दिएको विवरण भेटिएको बताए ।

कुनै समय शीतल निवासमा परराष्ट्र मन्त्रालय पनि राखियो । लोकतन्त्र आइसकेपछि त्यसलाई सिंहदरबारमा सारेर यो ठाउँ एउटा होटललाई भाडामा दिने प्रस्ताव आएपछि खोजी गर्ने क्रममा इच्छापत्र भेटिएको थियो । त्यसलाई व्यावसायिक प्रयोजनमा दिनु दाताको इच्छाविपरीत हुने भएपछि लिजमा दिने कुरा रोकिएको थियो ।

चन्द्रशमशेरले १९८० सालमा आफ्नी जेठी रानी लोकभक्तलक्ष्मी देवीतर्फका कान्छा छोरा कृष्णशमशेरका लागि बनाइदिएको उक्त दरबार लामो समयसम्म विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई राख्न प्रयोग भएको थियो ।

महेन्द्र शाह राजा भएपछि उनले नारायणहिटी दरबारमै यस्तो किसिमको अतिथि गृह बनाएका थिए । नारायणहिटीमा सरकार प्रमुख, विदेशी राजपरिवारका पाहुनाहरूलाई अतिथिका रूपमा राख्ने चलन एकातिर सुरु भयो भने अर्कोतर्फ शीतल निवासमा खर्च र कर्मचारी कटौती गरिँदै लगेपछि यो बिस्तारै अतिथि गृहको रूपमा प्रयोग हुनै छाडेको थियो । यो दरबारको डिजाइन इन्जिनियरद्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले गरेका थिए । भवन निर्माण गर्दा नै सरकारी गेस्ट हाउस बनाउने र कुनै विदेशी फाइभ स्टार होटलभन्दा कम नहुने गरी गरिएको ऐतिहासिक अभिलेखमा पाइन्छ ।

राष्ट्रपति कार्यालयका अनुसार शीतल निवासमा बर्माका तात्कालीन प्रधानमन्त्री यु नु पनि बास बसेका थिए । तर उनी बसेको मिति भने यकिन हुन नसकेको र ऐतिहासिक रेकर्डहरूमा यु नु नेपाल भ्रमणमा आउँदा शीतल निवासमा बसेको मात्र भेटिएको भट्टराईले बताए । त्यसपछि सन् १९५७ र १९६० मा नेपाल भ्रमणमा आएका चीनका प्रधानमन्त्री चाउ इनलाई दुवै पटक शीतल निवासमा राखिएको थियो ।

सन् १९६० मा तात्कालिक सोभियत संघका राष्ट्रपति भोरोस्लोभ पनि नेपाल भ्रमणमा आउँदा शीतल निवासमै बास बसेका थिए । उनी रुसका तर्फबाट नेपाल भ्रमण गर्ने एक्ला राष्ट्रपति हुन् । सन् १९६० मै नेपाल भ्रमणमा आएका जापानका युवराज अकिहितो पनि शीतल निवासमा बास बसेका थिए ।

त्यसपछि ब्रिटिस महारानी एलिजाबेथ पनि शीतल निवासमा बास बसेकी थिइन् । आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा उनी सन् १९६१ मा शीतल निवासमा बास बसेकी थिइन् । त्यसपछि शीतल निवासमा बास बस्न आइपुगेका थिए, भारतका तात्कालिक राष्ट्रपति सर्पपल्ली राधाकृष्णन । सन् १९६३ को नेपाल भ्रमणका क्रममा उनी शीतल निवासमा बसेका थिए । सन् १९६३ मै नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री अयुब खान पनि शीतल निवासमा बास बसेको अभिलेखमा उल्लेख छ ।

त्यसपछि शीतल निवासमा बास बसेका व्यक्ति इजरायलका राष्ट्रपति जाल्मन शजार पनि हुन् । उनी सन् १९६६ मा नेपाल भ्रमणमा आउँदा त्यहाँ बसेका थिए ।

कूटनीतिक मामिलामा धेरै पुस्तक लेखेका पूर्वसचिव भट्टराई सन् १९७० को दशकमा नेपाल भ्रमण गर्ने अतिथिहरू शीतल निवासमै बस्ने गरेको बताउँछन् । उनले परराष्ट्र सेवामा जागिर सुरु गर्दासम्म पनि शीतल निवासमा अतिथिहरू बस्ने गरेको सुनाए ।

नेपालमा अतिथि गृहको प्रचलन

नेपालमा अतिथि गृहका कुरा गर्दा शीतल निवासका रूपमा चर्चा हुने गरे पनि विशिष्ट विदेशी पाहुनाहरूलाई राख्ने छुट्टै घरको प्रचलन निकै पुरानो भएको कूटनीतिज्ञ भट्टराई बताउँछन् ।

उनका अनुसार भीमसेनस्थानमा रहेको परोपकार संस्था भएको स्थान, त्रिपुरेश्वर, केशरमहलनजिकै रहेको रंगमहलसहितका ठाउँमा पनि पहिले पहिले विदेशी तथा विशिष्ट स्वदेशी पाहुनाका लागि अतिथि गृह थिए । बीपी कोइराला प्रधानमन्त्री हुँदा त्रिपुरेश्वरको अतिथि गृहमै बसेको र पछि त्यसलाई प्रधानमन्त्री निवासका रूपमा पनि प्रयोग गरिएको इतिहासविद्हरूको भनाइ छ ।

शीतल निवासमा विवाह समारोह

सन् १९५२ देखि ५४ सम्म नेपालका लागि भारतीय राजदूत रहेका बालचन्द्र गोखलेले आफ्नो छोराको विवाह नै शीतल निवासबाट गराएका थिए । भारत ब्रिटेनको उपनिवेशबाट मुक्त भएपछि नेपालमा दूतावास भवनको टुंगो नलाग्दासम्मको अवधिमा भारतीय राजदूतावास शीतल निवासमा थियो । त्यस क्रममा राजदूत बालचन्द्रका एक छोराको विवाह नै त्यहाँबाट भएको पूर्वसचिव भट्टराईले बताए ।

बालचन्द्रका छोरा विजयकेशव गोखले सन् २०१८ देखि २०२० सम्म भारतको विदेश सचिव पनि भएका थिए । उनी नेपाल भ्रमणमा समेत आएका थिए ।

अनि शीतल निवास राष्ट्रपति भवनमा रूपान्तरण भयो

२०६२/०६३ को जनआन्दोलनपछि देशका राजतन्त्र अन्त्य भयो अनि गणतन्त्र आयो । गणतन्त्र आएसँगै देशमा राजा हटेर राष्ट्रपति चुनिन थाले । गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिका रूपमा रामवरण यादव निर्वाचित भए । गणतन्त्रको स्थापनापछि २०६५ असार २० को मन्त्रिपरिषद् निर्णयबमोजिम नेपाल सरकारले यस दरबारलाई राष्ट्रपति भवन बनाउने निर्णय गर्‍यो । यो निर्णयसँगै शीतल निवासको अर्को एउटा इतिहासबाट अर्कोमा रूपान्तरण भयो । त्यसयता शीतल निवासमा राष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको निवास रहँदै आएको छ । यो गणतन्त्रको प्रतीकका रूपमा छ ।

Oath taking of Sushila Karki as Prime Minister

‘स्टेट गेस्ट हाउस’ बनाउने मूल उद्देश्यसाथ दाता कृष्णशमशेरले यो भवन दान गरेका थिए । सुरुका दिनहरूमा त्यसो गरिए पनि कालान्तरमा गरिएन । हालसम्म शीतल निवासमा यादव, विद्यादेवी भण्डारी दुई कार्यकाल र हाल रामचन्द्र पौडेल राष्ट्रपति बनेर यही भवनमा बसिरहेका छन् । यही आगलागी भएर भग्नावेश भएको भवनमा सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पथ लिइन् अनि आफ्ना तीन मन्त्रीलाई पनि शपथ गराइन् । भट्टराईको विचारमा यो आफैं इतिहास बोकेको भवन भएकाले राष्ट्रपति कार्यालय पनि नराखी पुनः ‘स्टेट गेस्ट हाउस’ बनाउनुपर्ने बताए ।

उनले यसअघि पनि परराष्ट्र मन्त्रालयदेखि दूतावाससम्म बसेको तर दाताले जे इच्छा राखेर दिएको हो त्यही रूपमा राख्नुपर्ने उनको सुझाव छ । उनले आफू पत्रकारदेखि परराष्ट्रको कर्मचारीका रूपमा शीतल निवास पुगेको अनुभव सँगालेका छन् । पहिलो उनको पेसाका आधारमा पुगेका थिए भने दोस्रो उनको कामका लागि जाने गरेका थिए । उनको पनि यो भवनसँग धेरै याद छन् । उनी जर्मनीको राजदूत हुनुअघि पनि परराष्ट्र मन्त्रालयबाट शीतल निवासमा खटिएका थिए भने राजदूतबाट फर्किएपछि उनी त्यहीं पुगेका थिए । उनी नेपाल हाजिर भएपछि परराष्ट्र नारायणहिटीमा सरेको थियो । उनी परराष्ट्र सचिव भएपछि शीतल निवासका डकुमेन्टहरू पुरातत्त्व विभागलाई जिम्मा लगाएका थिए । उनलाई यी पुराना डकुमेन्टहरू भविष्यमा अध्ययन प्रयोजनका लागि काम लाग्ने भन्दै हस्तान्तरण गरेका थिए ।

शीतल निवासमा अतिथि गृह बनाउने गुरुयोजना

कोभिड महामारीअघि सरकारले शीतल निवासमा विदेशी अतिथि गृहसहितका सुविधा थप गर्ने गुरुयोजना तयार गरेको थियो । उक्त गुरुयोजना कार्यान्वयनका लागि आवश्यक पर्ने भनिएको नेपाल प्रहरीको तालिम केन्द्रको जग्गा उपलब्ध नभइसकेका कारण कार्यान्वयनमा नआएको शीतल निवासले जनाएको छ ।

राष्ट्रपति कार्यालयमा हेलिप्याडसँगै अत्याधुनिक र सुविधासम्पन्न ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ (राजकीय सत्कार गृह) बनाउने कार्ययोजना बनेको थियो ।

त्यसका लागि थप जग्गा आवश्यक परेकाले सरकारले नजिकको प्रहरी एकेडेमीलाई महाराजगन्जबाट सार्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

मन्त्रिपरिषद्को २१ भदौ २०७५ मा बसेको बैठकले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न प्रहरी एकेडेमी पनौतीमा सार्ने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयमा नेपाल भ्रमणमा आउने राष्ट्राध्यक्ष र सरकार प्रमुख तथा विशिष्ट पाहुनाहरूको सम्मानमा राष्ट्रपतिले रात्रि र दिवाकालीन भोज दिन अत्याधुनिक र सुविधा सम्पन्न ‘स्टेट ब्यांकेट’ समेत निर्माण गर्ने गुरुयोजना अघि सारेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा विदेशी राष्ट्रपति र सरकार प्रमुख सोझै राष्ट्रपति कार्यालयमा आउन र त्यहींबाट बिदाइ गर्न हेलिप्याड बनाउने निर्णय पनि भएको थियो ।

हेलिप्याड बनाएपछि विशिष्ट अतिथिहरू मुलुक भ्रमणमा आउँदा र फर्कंदा राजधानीमा हुने ट्राफिक जामको समस्या पनि अन्त्य हुने र विदेशी पाहुनाको समेत सम्मान हुने धारणा सरकारको थियो ।

राष्ट्रपति कार्यालयमा हेलिप्याडसँगै विशिष्ट अतिथिलाई राष्ट्रपतिले स्वागत र बिदाइ गर्ने तथा सैनिक टुकडीले सलामी दिने स्थल र राष्ट्रपतिको सुरक्षामा खटिएका सेनालाई परेड खेल्ने स्थल र बस्ने भवनसमेत निर्माण गरिने गुरुयोजनामा उल्लेख थियो ।

राष्ट्रपति कार्यालय र निवासलाई भव्य र सुविधासम्पन्न बनाउन परिसरमा आकर्षक बगैंचा, पौडी पोखरी र खेल मैदानलगायतका भौतिक संरचनासमेत बनाउने योजना सरकारको थियो ।

Posted on: October 19, 2025
Last updated on: November 7, 2025 7:47 PM

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept