Online GK Nepal

History of Singha Durbar

Home GK Notes History of Singha Durbar

सिंहदरबार नेपालको राजधानी काठमाडौंमा अवस्थित ऐतिहासिक र प्रशासनिक महत्वको दरबार हो। यो दरबार वि.सं. १९७० तिर शक्तिशाली प्रधानमन्त्री चन्द्र शम्शेर जबराले आफ्नो निवासको रूपमा निर्माण गरेका थिए। सो समयमा यो दक्षिण एशियाकै सबैभन्दा ठूलो महल मानिन्थ्यो र यसले राणा शासनकालको विलासिता र सत्ता प्रदर्शनलाई प्रस्ट देखाउँछ।

सिंहदरबारको वास्तुकलामा युरोपेली शैलीको प्रभाव देखिन्छ। विशाल भवन, अग्ला स्तम्भ, सजावटी ढोका र झ्यालहरूले यसलाई भव्य बनाएको छ। यसले राणाहरूको पश्चिमी सौन्दर्यप्रति आकर्षण र आफ्नो शक्ति देखाउने चाहनालाई प्रतिबिम्बित गर्दछ। निर्माणमा प्रयोग गरिएका उच्च गुणस्तरीय सामग्री र कलात्मक कामले आज पनि यसको ऐतिहासिक महत्व झल्काउँछ।

राणाकालमा सिंहदरबार

वि.सं. २००७ मा राणा शासन अन्त्य भएपछि सिंहदरबार सरकारको स्वामित्वमा आयो। त्यसपछि यसलाई नेपाल सरकारको प्रमुख प्रशासनिक केन्द्रको रूपमा प्रयोग गर्न थालियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र महत्त्वपूर्ण सरकारी निकायहरू यहाँ स्थापना भए। यसरी सिंहदरबार दरबार मात्र नभई शासन सञ्चालनको प्रतीक बनेको हो।

वि.सं. २०३० सालमा लागेको ठूलो आगलागीले सिंहदरबारको ठूलो भाग नष्ट गर्‍यो। धेरै कलात्मक कक्षहरू, सजावटी चित्र र ऐतिहासिक सम्पदा हराए। तर पछि पुनःनिर्माण गरिए पनि यसको पुरानो भव्यता भने पूर्ण रूपमा फर्कन सकेन। तथापि, यो अझै पनि नेपालको प्रशासनिक मुटु बनेर उभिएको छ।

आजको दिनमा सिंहदरबार नेपाली जनताको शासन, राजनीति र प्रशासनसँग प्रत्यक्ष सम्बन्धित स्थल बनेको छ। यसले नेपालले अनुभव गरेको राणा शासन, प्रजातान्त्रिक आन्दोलन र वर्तमान संघीय लोकतान्त्रिक प्रणालीको साक्षी बोकिरहेको छ। सिंहदरबार केवल एउटा दरबार मात्र होइन, नेपालको राजनीतिक यात्राको ऐतिहासिक धरोहर पनि हो।

भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्ध बिरुद्ध Gen-Z को आन्दोलनमा जल्दै गरेको सिंहदरबार

सिंहदरबार सम्बन्धि केहि तथ्यहरु :

१. आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सुरु गरेका थिए ।

२. करिब एक वर्ष भित्रमा नै निर्माण सम्पन्न भएको बताइने यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए । २९ वर्षे शासनकालमा उनी २८ वर्षसम्म यहीँ बसेका थिए ।

३. वि.सं.१९८२ वैशाख १ मा प्रधानमन्त्री चन्द्र शमशेरले यही दरबारबाट दासप्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए ।

४. युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिहरू छन् । यसै कारण यसको नाम सिंहदरबार रहन गएको हो ।

५. सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ ।

६. डिजाइनहरूले सिहंदरबारको डिजाइन गर्न पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक जस्ता यूरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट ‘रिफ्रेन्स’ लिएका थिए।

७. दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए ।

सिंहदरबारको निर्माणकर्ता श्री ३ महाराज चन्द्र सम्सेर जबरा

८. वि.सं.१९८६ मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक (जो आफ्नै ठूलो दरबारमा बस्थे) अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो ।

९. सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे । २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो ।

१०. २०३० सालमा आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र १७०० कोठाहरू थिए, जसमा सिङ्गमरमरको भुइँ, चित्र कोरिएका छत, चाँदीका फर्निचर र क्रिस्टलका बत्तीहरू थिए ।

११. दरबारको सबैभन्दा ठूलो र भव्य रूपमा सजाइएको कोठाको नाम ‘द स्टेट हल’ राखिएको थियो । त्यो हलमा विदेशी आयातित कलाका सामग्रीहरूले सजाइएको थियो । जसमा काँचका क्रिस्टलको झूमर, बेल्जियमका ऐना, इङ्गल्यान्डका रंगीन काँचका ढोका र इटालियन सिङ्गमरमर जस्ता सामग्री थिए ।

१२. निर्माणको अलि पछि जुद्ध शमशेरले विदेशी पाहुनाहरूसँग भेटघाट गर्नका लागि ग्यालरी बैठक बनाएका थिए । त्यो समयमा मित्र राष्ट्रका राजदूतहरूले हनुमान ढोकामा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने गर्थे । पछि त्यही ग्यालरी बैठकलाई संसद भवनको रूपमा प्रयोग गरिएको थियो ।

१३. २५ असार २०३० मा सिंहदरबारमा ‘विद्युत् सर्ट’ भएर आगलागी भयो । त्यस घटनाका कारण मानवीय क्षति भएन । तर परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो । अनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले ‘आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको’ भनेर राजीनामा दिएका थिए ।

१४. आगलागीपछि सिंहदरबारको बाँकी रहेका भागहरूको पुनर्निर्माण र ध्वस्त भएका भागहरूको पुनःनिर्माण गरिएको थियो । त्यसबेला पहिलेका मूल वास्तुकलालाई सकेसम्म बिउताने प्रयास गरिएको थियो । तर, केही मौलिक संरचना र सजावटहरू भने गुमेका थिए ।

१५. राणा शासन विरुद्ध लडेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यसै दरबारबाट सुनाएका थिए । त्यसका लागि त्यहाँ विशेष अदालत गठन गरी उनीहरूको मृत्युदण्डको फैसला गरिएको थियो ।

Posted on: September 13, 2025
Last updated on: November 7, 2025 7:44 PM

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept